श्रावण १७ २०८३, आइतबार

लेबनानमा 'हाते पेजर' पछि 'वाकीटकी' विस्फोट, कम्तीमा २० जनाको ज्यान गयो

लेबनानमा लडाकु समूह हिजबुल्लाहका सदस्यहरूले आपसमा सञ्चारका लागि प्रयोग गर्ने वाकीटकीहरू विस्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ ।

वाकीटकी विस्फोटमा कम्तीमा २० जनाको ज्यान गएको र चार सय ५० जनाभन्दा धेरै घाइते भएका लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हिजबुल्लाहको पकड क्षेत्र बेरुत, बेका उपत्यका, दक्षिणी लेबनान लगायतका क्षेत्रमा वाकीटकी विस्फोट भएको खबरमा उल्लेख छ ।

यसअघि गएको मङ्गलवार हिजबुल्लाह सदस्यहरूको पेजरहरू विस्फोट हुँदा १२ जनाको ज्यान गएको थियो । कतिपय विस्फोट अन्तिम संस्कारका क्रममा भएका थिए ।

हिजबुल्लाहले विस्फोटका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाउँदै घटनाको बदला लिने चेतावनी दिएको छ । विस्फोटनको घटनाबारे इजरायलले भने प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।

प्यालेस्टिनी विद्रोही समूह हमासलाई सहयोग गरेको आरोपमा इजरायलले हिजबुल्लाहमाथि पनि आक्रमण गर्दै आएको छ । इजरायलका रक्षामन्त्री याभ गालान्टले ‘युद्धको नयाँ युग’ शुरू भएको बताएपछि इजरायली सेना पनि उत्तरी क्षेत्रमा तैनाथ गरिएको थियो ।

यसैबीच यो घटनालाई लिएर संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले बढ्दो खतराबारे चेतावनी दिँदै सबै पक्षलाई शान्ति कायम गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार