श्रावण १७ २०८३, आइतबार

कोप–२९ मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठाउने

आउँदो सोमवारदेखि अजरबैजानको बाकुमा शुरू हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) मा नेपालले जलवायु वित्तको मुद्दालाई प्रमुख रुपमा उठाउने भएको छ ।

 

 

कोप २९ नै जलवायु वित्तलाई केन्द्रमा राखेर सञ्चालन हुने भएकोले नेपालले पनि त्यही अनुसार तयारी गरेको हो । सम्मेलनमा ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानी तथा नोक्सानीको सम्बोधन’ विषयक उच्चस्तरीय बैठकसमेत हुनेछ ।

विश्वमै नेपाल जलवायुको असरबाट सबैभन्दा बढी प्रभावित देशहरुमध्ये पर्छ । बैठकमा नेपालले मेलम्ची, मुस्ताङ, कञ्चनपुर, थामे, काठमाण्डौ उपत्यकालगायत क्षेत्रमा असामान्य मौसमीजन्य घटनाका कारण आएको बाढीपहिरोबाट भएको क्षतिबारे जानकारी गराउने तयारी गरेको छ ।

नेपालले जलवायु परिवर्तनसम्बन्धी विभिन्न महासन्धिको पक्ष राष्ट्रका हैसियतले सन् २०५० सम्म कार्यान्वयन गर्ने राष्ट्रिय अनुकूलन कार्यक्रम तयार गरी कार्यान्वयन गरिरहेको छ । सम्मेलनमा भाग लिन राष्ट्रपति रामचन्द्र पौडेल आइतवार अजरबैजान जानुहुने भएको छ ।

अजरबैजानका राष्ट्रपति इल्हम अलियभको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लाग्नुभएको हो ।

राष्ट्रपति पौडेलले  कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनका क्रममा नेपालले आफ्ना एजेण्डामाथि विश्वको ध्यानाकर्षण गराउन कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा बेग्लै उच्चस्तरीय सत्र सञ्चालन हुनेछ ।

सम्मेलन कात्तिक २६ गते सोमबार शुरू भएर मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । 

प्रतिक्रिया

सम्बन्धित समाचार