२४ घण्टासम्म निभेन सहरी विकास तथा भवन निर्माण विभागको आगो, ३२ सरकारी सवारी जले
राजधानीस्थित सहरी विकास तथा भवन निर्माण विभागको भवनमा लागेको आगो २४ घण्टापछि पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन।
मंगलबार दिउँसो ३ बजे जेन–जी आन्दोलनमा संलग्न समूहले विभागको कार्यालयमा आगजनी गरेको थियो। विभागको आठतले मुख्य भवनमा लागेको आगो अहिले पनि बलिरहेको छ। सेनाको टोली, प्रहरी र महानगरपालिकाका दमकल परिचालन गरिए पनि आगो नियन्त्रणमा कठिनाइ भएको सुरक्षास्रोतले जनाएको छ।

आगोका कारण विभागका ३२ वटा चालू अवस्थाका गाडी पूर्ण रूपमा जलेर नष्ट भएका छन्। विभाग परिसरमा रहेका पाँच ब्लकमध्ये तीन ब्लक मात्र जोगिएको र बाँकीमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ।
स्रोतका अनुसार भवनभित्र रहेका कागजात, प्राविधिक नक्सा, अभिलेख तथा कार्यालय सामग्री प्रायः जलेका छन्। यसले विभागको नियमित प्रशासनिक कार्यसमेत प्रभावित हुने देखिएको छ।

दमकल, सेना र प्रहरीको टोलीले निरन्तर प्रयास गरे पनि आगोको तीव्रता कम नभएकाले आसपासका बस्तीलाई सचेत रहन आग्रह गरिएको छ। स्थानीयबासीले भवन वरपर धुवाँको बाक्लो आवरणका कारण त्रास अनुभव गरिरहेका छन्।
सुरक्षाकर्मीहरूले आगलागीलाई नियन्त्रणमा लिन थप उपकरण र बल प्रयोग भइरहेको जनाएका छन्। यद्यपि, आगलागीका कारण भएको मानवीय क्षतिको विवरण भने अहिलेसम्म आएको छैन।

प्रतिक्रिया