कारागार तोडफोडपछि सेनाले नियन्त्रणमा लियो कैदीबन्दी
जेनजीको आन्दोलनको मौका पारेर पूर्वी नेपालका विभिन्न कारागारबाट भागेका कैदीबन्दीलाई नेपाली सेनाले नियन्त्रणमा लिएर पुनः कारागारमा बुझाएको छ।
सुनसरीको झुम्का कारागार तोडफोड गरी भागेका १,७९९ मध्ये ३०१ जनालाई सेनाले रामधुनी जंगल, झुम्का बजार र विराटनगर क्षेत्रबाट नियन्त्रणमा लिएको हो। सेनाले हाल कारागार परिसरमा सुरक्षा कडा पारेको जनाएको छ।

यसैबीच, विराटनगर–३ मा रहेको बाल सुधारगृहबाट भागेका १५६ मध्ये अधिकांशलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ। सुधारगृहमा ५० जनाको क्षमता भए पनि हाल २५५ जना राखिएका थिए, जसमध्ये करिब आधा १८ वर्ष नाघिसकेका छन्।
झुम्का कारागारबाट भागेका ४८ जना आफैं फर्किएका छन्। फर्किएका सहित हाल २७५ जना कैदीबन्दी भित्रै रहेका छन्।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रदेश कार्यालयले झुम्का कारागारको अनुगमन गरेको छ। जेल प्रशासनले सुरक्षाकर्मीहरूको सहयोगमा प्रारम्भिक अवस्थामै कैदीलाई भाग्न दिएको जानकारी दिएको छ।
ओखलढुङ्गा कारागार भने सामान्य अवस्थामा रहेको छ। ३० जनाको क्षमता भएको कारागारमा ७७ जना कैदीबन्दी रहेका छन्। विरोध प्रदर्शन भए पनि सम्झाइबुझाइ पछि स्थिति शान्त भएको प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिए।

झापामा आन्दोलनकारीले प्रहरी कार्यालय नियन्त्रणमा लिएर ९२ जना थुनुवा भगाएका छन्। भाग्नेमा हत्या, डकैती, लागुऔषध कारोबार जस्ता गम्भीर अपराधमा संलग्नहरू समेत रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया