घटस्थापनासँगै नेपालीहरूको महान पर्व बडादशैं सुरु
६ असोज, काठमाडौं । नेपालीहरूको महान पर्व बडादशैं आजबाट औपचारिक रूपमा सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधामका साथ मनाइने बडादशैंको पहिलो दिन आज घटस्थापना पर्व हो।
आजको दिन घर–घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैं घरमा गोबरले लिपपोत गरी पवित्र माटो वा बालुवामा जौ छरेर जमरा राख्ने परम्परा छ। दुर्गा देवीको प्रिय वस्तु मानिने जमरा विजया दशमीको दिन टीका प्रसादसँगै ग्रहण गरिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार जौ बाहेक अन्य अन्नको जमरा राख्ने शास्त्रीय विधि छैन। घटस्थापनादेखि दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ र यस अवधिमा देवी दुर्गाका नौ रूप—शैलपुत्रीदेखि सिद्धिदात्रीसम्म—को पूजा आराधना गरिन्छ।
दशैंको सातौं दिन फूलपाती, महाअष्टमी र महानवमीका दिन बलिपूजा तथा विशेष आराधना गरिन्छ। नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायतका स्तोत्र पाठ गर्ने परम्परा छ। देशभरका शक्तिपीठहरू—नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवीलगायतका मन्दिरमा दर्शनार्थीहरूको भीड लाग्ने गर्छ।

दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ। यो कुनै जात वा धर्म विशेषको नभई सम्पूर्ण मानव कल्याणका लागि शक्तिको आराधनाका रूपमा स्थापित गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ। यस वर्षको दशैंको टीका असोज १६ गते परेको छ।
प्रतिक्रिया