वैशाख ३१ २०८३, बिहिबार

नवरात्रको दोस्रो दिन ब्रह्मचारिणी देवीको विशेष पूजा आराधना

Ads

काठमाडौं । आश्विन शुक्ल द्वितीया तिथि अर्थात् नवरात्रको दोस्रो दिन आज देशभर ब्रह्मचारिणी देवीको विशेष पूजा–आराधना भइरहेको छ। दसैँ घर तथा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरिएको स्थलमै भक्तजनहरूले देवीलाई आह्वान गर्दै पूजा गरेका हुन्।

नवरात्रको पहिलो दिन सोमबार घटस्थापना गरी जौको जमरा राखिएको थियो। सो दिन नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजाआराधना गरिएको थियो। त्यसपछि दोस्रो दिन आज देवी ब्रह्मचारिणीको स्मरणसहित पूजा गर्ने धार्मिक परम्परा रहिआएको छ।

Ads

धार्मिक विश्वास अनुसार नवरात्रका नौ दिनसम्म घटस्थापनास्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायतका स्तोत्रहरूको पाठ गरिन्छ। देवीको आराधनाबाट शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता छ। त्यसैले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्ने परम्परा वैदिक सनातन धर्मावलम्बीहरूमा प्रचलित छ।

नवरात्रका अवसरमा पूजा गरिएको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने प्रथा छ।

Ads

धार्मिक ग्रन्थअनुसार संसारका जीवलाई सच्चिदानन्द ब्रह्मको बोध गराउन निरन्तर लागिरहने शक्तिरूपिनी देवी नै ब्रह्मचारिणी हुन्। उनका हातमा कमल, अक्षमाला र कमण्डलु रहने स्वरूपको पूजा गर्नुपर्ने विधान छ।

यस अवसरमा देशभरका शक्तिपीठहरूमा भक्तजनहरूको ठूलो घुइँचो लागेको छ। सोमबारदेखि नै तीर्थस्थल र शक्तिपीठहरूमा विशेष चहलपहल सुरु भइसकेको छ।

Ads

प्रतिक्रिया

सम्बन्धित समाचार