जेनजी आन्दोलनपछि एमाले र कांग्रेसको बाटो फरक दिशामा
२८ असोज, काठमाडौं ।
जेनजी आन्दोलनपछि सत्ता बाहिरिएका दुई ठूला दल—नेपाली कांग्रेस र नेकपा एमाले—पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणको दबाबमा छन्। तर, कांग्रेसले परिवर्तनको माग आत्मसात् गर्दै नेतृत्व हस्तान्तरणको संकेत देखाएको छ भने एमाले पुरानै नेतृत्व कायम राख्ने तयारीमा देखिएको छ।
मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले वर्तमान राजनीतिक अवस्थाको समीक्षा गर्दै अब कार्यकारी भूमिकामा नरहने सन्देश दिएका छन्। त्यसअनुसार उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्।

देउवाको यो कदमलाई पार्टीभित्र उठेको नेतृत्व परिवर्तनको मागप्रति प्रत्यक्ष प्रतिक्रिया मानिएको छ। विशेष महाधिवेशनका लागि महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले देशव्यापी हस्ताक्षर अभियान चलाइरहेका बेला देउवाले नेतृत्व हस्तान्तरणको बाटो लिएका हुन्।
उता, नेकपा एमालेमा पनि नेतृत्व परिवर्तनको माग चर्को भए पनि अध्यक्ष केपी शर्मा ओलीले पद नछोड्ने अडान लिएका छन्। भोलिदेखि ललितपुरमा सुरु हुने केन्द्रीय कमिटी बैठकमा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन, महाधिवेशन तयारी र संसद् पुनर्स्थापनाबारे प्रस्ताव पेश गर्ने तयारी गरेका छन्।

सचिवालय बैठकमा अधिकांश नेताहरूले जेनजी आन्दोलनपछि पार्टीका कमजोरी सच्चाउन नेतृत्व परिवर्तनको आवश्यकता बताएको भए पनि ओलीले आफूले देशका लागि “घात गरेको छैन” भन्दै राजीनामा अस्वीकार गरेका थिए। उपाध्यक्ष गुरु बराल, महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमालले ओलीको अडानको समर्थन गरेका छन् भने विष्णु पौडेल र पृथ्वीसुब्बा गुरुङलगायत नेताहरू असन्तुष्ट छन्।
एमाले अध्यक्ष ओलीले जेनजी आन्दोलनलाई “देशी–विदेशी षड्यन्त्र” को रूपमा व्याख्या गर्दै संसद् पुनर्स्थापनाको पक्ष लिएका छन्। कांग्रेस सभापति देउवाले भने आन्दोलनलाई परिवर्तनको जनभावना भन्दै निर्वाचनमार्फत व्यवस्थालाई पुनःट्रयाकमा ल्याउने धारणा राखेका छन्।

राजनीतिक विश्लेषकहरूले यी दुई दलबीचको कदमलाई “परिवर्तन आत्मसात् गर्ने कांग्रेस र यथास्थिति जोगाउने एमाले” को रूपमा व्याख्या गरेका छन्। उनका अनुसार, आगामी महाधिवेशन दुबै दलको भविष्य दिशा निर्धारण गर्ने निर्णायक मोड बन्नेछ।
प्रतिक्रिया