तारा एयरले पोखरा–जोमसोम गन्तव्यमा आजदेखि पुनः उडान शुरू गर्दै

तारा एयरको उडान पोखराको पुरानो विमानस्थलबाटै सञ्चालन हुनेछ । मुस्ताङको जोमसोम विमानस्थल समुन्द्री सतहबाट दुई हजार सात सय ३६ मिटर उचाइमा रहेको छ । पोखराबाट पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुने हवाई सेवा प्रतिकूल मौसमका कारण गएको असार १७ गतेदेखि स्थगित भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालका अनुसार दुई महिनापछि समिट एअरलायन्सले गएको बिहीवारदेखि नै उडान भर्न शुरू गरेको थियो ।

यसैबीच पर्यटकीय सिजनका लागि तारा एयरले रामेछाप–लुक्ला– रामेछापका लागि असोज ४ अर्थात् सेप्टेम्बर २० तारिखदेखि नियमित उडान गर्ने तालिका सार्वजनिक गरेको छ । सगरमाथा क्षेत्रमा जाने पर्यटकका लागि विभिन्न वायुसेवा कम्पनीले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म पर्यटकीय सिजनमा उडान गर्दै आएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्यधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् ।

प्रतिक्रिया