श्रावण १८ २०८३, सोमबार

नसर्ने रोग विश्वमै जटिल बन्दै

विश्वव्यापीकरण, सहरीकरण, जनसंख्या वृद्धि तथा जीवनशैलीमा आएको परिवर्तन तथा वातावरणीय प्रदूषणलगायत कारणले नसर्ने रोगको जोखिम बढ्दै गइरहेको विज्ञहरू बताउँछन् । उनीहरूका अनुसार अस्वस्थ जीवनशैलीका कारण क्यान्सर, मधुमेह, मुटुरोग, दमलगायतका रोग बढ्दो क्रममा छ ।

 

 

मुटुरोग विशेषज्ञ डा. राजेन्द्र कोजू ओपिडीमा आइपुग्ने धेरैजसो बिरामीमा उच्च रक्तचाप, मधुमेह, छाती दुख्ने, मुटुको समस्या देखिन्छ । यी सबै नसर्ने रोग हुन् । स्वस्थ खानपान तथा व्यायामले शरीर तन्दुरुस्त हुन्छ भन्ने चेत हुँदा पनि धेरैजनाले यसलाई बेवास्ता गरिरहेको उनको अनुभव छ ।

खानेकुरामा अनुशासन नहुँदा बालबालिकामा पनि मोटोपन बढ्दो छ । ‘धेरै चिल्लो र गुलियो खाने, तर शारीरिक व्यायाम छैन अनि बोसो जम्छ । अर्कातिर प्रदूषणले पनि धेरैलाई रोगी बनाउँदै लगेको छ,’ डा. कोजू भन्छन् । 

नसर्ने रोगबाट वार्षिक चार करोडको मृत्यु

 विश्व स्वास्थ्य संगठठन (डब्लुएचओ)का अनुसार नसर्ने रोगबाट वार्षिक चार करोड १० लाखले ज्यान गुमाउने गरेका छन्। जुन विश्वव्यापी रूपमा हुने मृत्युको ७४ प्रतिशतबराबर हो । हरेक वर्ष एक करोड ७० लाख मानिसले नसर्ने रोगबाट ७० वर्षको उमेरभन्दा अगावै नै ज्यान गुमाइरहेका छन् । नसर्ने रोगबाट मर्ने ७७ प्रतिशत निम्न तथा मध्यम आय भएका देशका छन् । 

कार्डियो भास्कुलर रोग (सिभिडी)बाट वार्षिक एक करोड ७९ लाख, क्यान्सरबाट ९३ लाख, क्रोनिक रेस्पिरेटिरीबाट ४१ लाख मानिसले वार्षिक रूपमा ज्यान गुमाउने गरेका छन् । नसर्ने रोगको मुख्य कारक अस्वस्थकर जीवनशैली नै देखिएको छ । सूर्तीजन्य पदार्थको सेवन, शारीरिक व्यायामको कमी, मद्यपान तथा धूम्रपान, अस्वस्थकर खानपान, वायु प्रदूषणले नसर्ने रोग निम्त्याउन अहं भूमिका खेलिरहेका छन् । नसर्ने रोगले लामो अवधि र साधारणयता सुस्त गतिमा प्रभाव पार्ने गर्छ । 
    
विश्व स्वास्थ्य संगठनको सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१९ मा गरेको एक अध्ययनअनुसार ७१ प्रतिशत  बढी नागरिकले नसर्ने रोगका कारण ज्यान गुमाउनुपरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार