वैशाख ३१ २०८३, बिहिबार

धौलागिरि हिमालमा पाँच पर्वतारोहीको शव एक हप्तादेखि सङ्कलन हुन सकेन

Ads

धौलागिरि हिमालमा पाँच पर्वतारोहीको शव एक हप्तादेखि सङ्कलन हुन सकेन

म्याग्दी, असोज २७, २०८१ (रासस): धौलागिरि हिमाल आरोहणको क्रममा मृत्यु भएका पाँच रुसी पर्वतारोहीको शव एक हप्तादेखि पनि उद्धार हुन सकेको छैन। ७,१०० मिटर उचाइमा मृत अवस्थामा भेटिएका उनीहरूको शव सङ्कलन गर्न प्रतिकूल मौसम र कठिन भूगोलका कारण समस्या उत्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठले प्रतिकूल अवस्था र अवतरण कठिनाइका कारण शव ल्याउन असफल भएको जानकारी दिएका छन्।

Ads

“हेलिकप्टर अवतरण गर्न नसकिने स्थानमा शवहरू भेटिएका छन्,” श्रेष्ठले भने, “मौसमको खराबीका कारण शव उद्धार सफल हुन सकेको छैन।” बुधबारदेखि लगातार उद्धार प्रयास गरिएको भए पनि हेलिकप्टर रित्तै फर्किनु परेको छ। दसैंको कारण शनिबार उद्धार कार्य रोकिएको थियो भने आइतबार हिमालमा कुहिरो लागेकोले हेलिकप्टर पठाउन नसकिएको हो। अनुकूल मौसम भएमा सोमबार उद्धार टोलीलाई पुनः प्रयास गरिने जानकारी दिइएको छ।

रुसी पर्वतारोहीहरू ७,६०० मिटर उचाइबाट सम्पर्कविहीन भएका थिए। उनका शवहरू असोज २३ गते दिउँसो भेटिएका थिए। यसअघि, ‘आइ एम ट्रेकिङ एण्ड एक्सपिडिसन’मार्फत रुसका १४ पर्वतारोही धौलागिरि आरोहणमा गएका थिए, जसमध्ये नौ जना बीचमै फर्किएका थिए। धौलागिरि हिमाल विश्वको सातौँ अग्लो हिमाल हो र म्याग्दी जिल्लाको धवलागिरि गाउँपालिका-४ मा पर्दछ।

Ads

पर्यटन विभागका अनुसार, यस शरद ऋतुमा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए। प्रतिकूल मौसमका कारण उद्धार कार्यमा चुनौती उत्पन्न भएको र अनुकूल मौसमको पर्खाइमा उद्धार टोली तयारी अवस्थामा रहेको जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार