छठ पर्व: अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ पूजाआराधना गरिँदै
काठमाडौं – आज छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ सूर्यदेवको पूजाआराधना गरिँदैछ। यो पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सूर्यदेवको उपासना र पूजाको रूपमा मनाइन्छ, जसको सुरुवात मङ्गलबारदेखि भएको हो। महाभारतका अनुसार, पाँच पाण्डव र द्रोपदीले अज्ञातवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र यसै समयदेखि छठ पर्व मनाउन थालिएको जनविश्वास छ। सूर्य पुराणअनुसार पनि अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम यो व्रत गरेकी थिइन्।
छठ पर्वमा सूर्यको महत्त्व विशेष रूपमा रहन्छ। भौतिक जीवनका सम्पूर्ण अस्तित्व सूर्यशक्तिमै आधारित छन्। सूर्यको किरणले अनेक रोगहरूको उपचारसमेत सम्भव भएको चिकित्सकहरू बताउँछन्। साम्ब पुराणमा कुष्ठरोगबाट पिडित साम्बले सूर्यको आराधना गरी रोगमुक्त भएको प्रसंग पनि उल्लेख छ। यस पर्वमा दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास रहेको छ।
व्रत विधि
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत बस्ने प्रचलन छ। पाँचौं दिन सखर मिलाइएको खीर ‘खरना’ देवीलाई चढाई प्रसादस्वरूप खान्छन् र एक छाक फलाहार मात्र गर्ने चलन छ। मुख्य दिन साँझ निराहार व्रत बस्दै अस्ताउँदो सूर्यलाई अर्घ दिने र रातभर जागा बसिन्छ। कार्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै छठ पर्व समापन गरिन्छ।
छठ पर्वको अवसरमा काठमाडौंको गौरीघाट, गुह्येश्वरी, कमलपोखरीलगायत नदी किनारहरू विशेष रूपमा सजाइएका छन्। धार्मिक विश्वासअनुसार छठ पर्व विधिपूर्वक मनाएमा चर्म रोग नलाग्ने मान्यता छ। विसं २०४६ अघि मधेश क्षेत्रमा मात्र सीमित यो पर्वले हाल राष्ट्रियस्वरूप ग्रहण गरेको छ।
प्रतिक्रिया