भिआइपीलाई पर्खिदा उडान ढिलो, पाण्डे भन्छन्: 'श्री एयरलाइन्समा अब चढ्दिन'
काठमाडौं – विमान उडानहरूमा भिआइपी यात्रुको प्रतीक्षाले गर्दा नियमित यात्रुहरूको असन्तुष्टि बढ्दै गएको छ। हालै श्री एयरलाइन्स र बुद्ध एयरका यात्रुहरूले यसप्रति कडा प्रतिक्रिया जनाएका छन्।
नोभेम्बर ११ मा श्री एयरलाइन्सको काठमाडौं–भरतपुर उडानमा एक भिआइपी यात्रुलाई पर्खंदा उडान ५५ मिनेट ढिलो भयो। यात्रुहरूले ‘एयर ट्राफिक’ कारण भनेर ढिलाइ गराइएको भनिए पनि भिआइपी यात्रुको कारण ढिलाइ भएको थाहा पाएपछि असन्तुष्टि व्यक्त गरेका थिए।
सामाजिक सञ्जालमा नारायण पाण्डेले श्री एयरलाइन्सको सेवा प्रति असन्तुष्टि व्यक्त गर्दै लेखेका छन्, “श्री एयरलाइन्समा अब चढ्दिन। भिआइपी यात्रुहरूको कारण उडान ढिलो हुनु स्वीकार्य छैन। यस्तो अस्वस्थ र गैरव्यावसायिक व्यवहारले यात्रुहरूको अधिकार उल्लंघन गरिरहेको छ।”
यसै सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा केदार न्यौपानेले बुद्ध एयरप्रतिको आफ्नो अनुभव साझा गर्दै लेखेका छन्, “मलाई पनि विराटनगरमा बुद्ध एअरले त्यस्तै गर्यो। म पनि यसलाई अर्को पटकदेखि बाई बाई गर्नु पर्ने हो कि सोच्दै छु।”
यस्तै, अर्को प्रतिक्रिया दिँदै किरण अमात्यले भिआइपीहरूको कारण उडान ढिलाइ हुनु सामान्य भएको बताए। उनले लेखे, “यो भिआइपीहरू भनाउँदाहरूको कारण प्लेन ढिलो हुनु पहिलो पटक होइन। प्लेन मात्र होइन, काठमाडौंमा त बाटो नै जाम हुन्छ। किनकि हामीले एउटा राजा फाल्यौं, तर सयौं राजाहरू जन्मायौं।”
यात्रीहरूले ‘भिआइपी संस्कृतिको’ विरोध गर्दै यस्तो प्रवृत्तिले यात्रुहरूको अधिकार र सम्मानमा आँच पुर्याएको र दैनिक यात्रामा थप झन्झट थपिएको बताएका छन्।
प्रतिक्रिया