माघ २६ २०८१, शनिबार

६० वर्षपछि महारानीझोडाबासीले पाए धनीपुर्जा

Ads

 

गौरादह नगरपालिका–४ र ५ का करिब ६ दशकदेखि भोगचलनमा रहेको जग्गाका जग्गाधनीहरुले अन्ततः आफ्नो धनीपुर्जा पाएका छन्। पूर्व महारानीझोडा गाविसका हालका यी क्षेत्रका नागरिकहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता प्रमाणपूर्जा वितरण गरेका हुन्।

Ads

विशेष नापी कार्यालय, झापाको आयोजनामा गौरादह–५ स्थित स्कुलचौनस्थित शिव मन्दिर परिसरमा आयोजित कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा धनीपुर्जा वितरण कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा प्रधानमन्त्री ओलीले करिब तीन सय जनालाई धनीपुर्जा वितरण गरे।

कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्की, पूर्वमन्त्री अग्नि खरेल, प्रदेश सांसदहरु, र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको पनि उपस्थिति थियो।

Ads

गत साउन महिनादेखि धनीपुर्जा वितरण प्रक्रिया सुरु गरिएकोमा हालसम्म करिब ५,००० विगाह जग्गाका समस्याहरु समाधान गर्दै साढे ७,००० जनाले धनीपुर्जा पाउने आशा गरिएको छ। महारानीझोडाका यी जग्गा समस्याको समाधान गर्न विगतमा थुप्रै प्रयास गरिए पनि कुनै ठोस नतिजा आएको थिएन। तर, केपी शर्मा ओली नेतृत्वको सरकारले यस समस्यालाई समाधान गर्ने विशेष प्राथमिकता दिँदै काम अगाडि बढाएको हो।

कार्यक्रमका क्रममा प्रधानमन्त्री ओलीले यी पूर्जाहरुले नागरिकको कानुनी हक स्थापित गर्ने र आर्थिक समृद्धिमा योगदान पुर्‌याउने विश्वास व्यक्त गरे। उनले धनीपुर्जा वितरणले सामाजिक न्यायमा समेत सघाउ पुर्‌याउने बताए।

यस ऐतिहासिक उपलब्धिले महारानीझोडाबासीलाई दशकौँदेखिको अन्यौलता अन्त्य गर्दै आत्मनिर्भरता र समृद्धिको नयाँ आयाम खोलिदिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार