श्रावण १८ २०८३, सोमबार

'एमपक्स' को प्रकोप भयावह रूपमा फैलिदै, ४५० को ज्यान गयो, 'डब्ल्यूएचओ' ले गर्यो विश्वव्यापी आपत्कालको घोषणा

 

  
अफ्रिकाका केही भागहरूमा 'एमपक्स' को प्रकोप फैलिएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी आपत्कालको घोषणा गरेको छ ।

पहिलो मङ्कीपक्स भनेर चिनिने अत्यधिक सङ्क्रामक रोग एमपक्सका कारण कङ्गोमा चार सय ५० जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अहिले यो सङ्क्रमण मध्य र पूर्वी अफ्रिकामा फैलिरहेको छ । वैज्ञानिकहरूले यस रोगको नयाँ भेरियन्ट तीव्र फैलिरहेको र यसको उच्च मृत्युदरलाई लिएर चिन्ता व्यक्त गरेका बीबीसीको खबरमा उल्लेख छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानम गेयब्रेयससले यो सङ्क्रमण अफ्रिकाभित्र र बाहिर फैलिने सम्भावना रहेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ । यो प्रकोप रोक्न र जीवन बचाउनका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेको उहाँले बताउनुभएको छ ।

मानिसहरूलाई बिफर गराउने प्रजातिको भाइरसबाट मङ्कीपक्स सङ्क्रमण हुन्छ । यो भाइरस सबैभन्दा पहिले जनावरबाट मानिसमा सरेको भए पनि अहिले मानिसबाट मानिसमा पनि सर्ने गरेको छ ।

मङ्कीपक्सको प्रारम्भिक लक्षणमा ज्वरो आउने, टाउको दुख्ने, सुन्निने, ढाड दुख्ने र मांसपेशी दुख्ने असर देखा पर्छन् । ज्वरो उच्च भएपछि शरीरमा बिमिराहरू देखा पर्न सक्छन् र यो अनुहारबाट शुरू भएर शरीरका अन्य भागमा फैलिन्छ । बिमिराहरू निकै चिलाउने वा दुख्ने हुन सक्छ ।

मङ्कीपक्सकाे सङ्क्रमणबाट आँखामा सङ्क्रमण भई दृष्टि गुम्ने, निमोनिया हुने र ज्यान पनि जान सक्छ । सङ्क्रमित व्यक्तिसँगको नजिकको संसर्गबाट पनि मङ्कीपक्स सर्न सक्छ । यस्तै भाइरसबाट सङ्क्रमित भएका वस्तु जस्तै रगत, लुगाबाट पनि सङ्क्रमण सर्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार