साधारणसभा विषेश: उदाउँदो सारथि, सबैको सारथी
गौरादह, चैत्र ५ – गौरादहमा स्थापित सारथि युवा क्लबको दोस्रो साधारणसभा आज शनिबार सम्पन्न भएको छ। कार्यक्रमका क्रममा संस्थाको वार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै सामाजिक योगदानबारे व्यापक छलफल गरिएको थियो।
साधारणसभामा अध्यक्ष गोविन्द कँडेल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन अनुसार, संस्थाको कुल आय-व्यय ८ लाख ६० हजार ५ सय ८ रुपैयाँ ९६ पैसा रहेको छ।
संस्थाको पारदर्शी वित्तीय व्यवस्थापनलाई सहभागीहरूले सकारात्मक रूपमा लिएका छन्।
स्थापनाको दोस्रो वर्षमै ९३ जना सदस्यहरू आवद्ध भइसकेको यो गैरराजनीतिक संस्था गौरादहमा सामाजिक रूपान्तरणको अभियानमा सक्रिय देखिन्छ। "दिगो विकास, सुशासन र जवाफदेहिता हाम्रो समाजको आवश्यकता" भन्ने नारासहित अगाडि बढिरहेको यस संस्थाले थुप्रै सामाजिक गतिविधिहरूमा योगदान पुर्याएको छ।
कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदी प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले सारथि युवा क्लबले गौरादहमा अनुकरणीय कार्यहरू गरिरहेको भन्दै प्रशंसा गरे। साथै, स्थानीय संघ-संस्थाहरूले भ्रष्टाचारविरुद्धको लडाइँमा महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा जोड दिँदै, निस्वार्थ सेवाभावले काम गर्न अपिल गरे।
"तपाईंहरू निस्वार्थ भावले अगाडि बढ्नुहोस्, स्थानीय सरकार तपाईंहरूलाई साथ दिन्छ," उनले भने।
साधारणसभामा वडा नम्बर ३ का वडाध्यक्ष दिलीप भण्डारी, वडा नम्बर ९ का अध्यक्ष उपेन्द्र निरौला, गौरादह बहुमुखी क्याम्पसका पूर्व प्रमुख सुरेश पौडेल र भोजराज दाहाल, स्कुलचौन माविका पूर्व प्रधानाध्यापक बाबुराम भण्डारी लगायतले शुभकामना मन्तव्य राख्दै क्लबको प्रशंसा गरे।
कार्यक्रमका क्रममा सहभागीहरूले सारथि युवा क्लबको भूमिकालाई अझ व्यापक बनाउन सुझाव दिएका थिए। संस्थाले आगामी वर्षमा स्थानीय विकास, शिक्षा, स्वास्थ्य, युवा सशक्तीकरण र सामाजिक न्यायका क्षेत्रमा थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
कार्यक्रममा आजीवन सदस्यहरुलाई प्रमाणपत्र सहित सम्मान गरियो भने विभिन्न कार्यक्रममा उल्लेख्य भुमिका निर्वाह गर्नेहरूलाई सम्मान अर्पण गरियो ।
संस्थाका अध्यक्ष गोविन्द कँडेलको सभापतित्वमा सम्पन्न यो कार्यक्रम संस्थाका सचिव ई. भानु आचार्य द्वारा सञ्चालित भएको थियो।
सारथि युवा क्लब गौरादहले थोरै अवधिमा प्रभावशाली गतिविधि सञ्चालन गर्दै समुदायमा सकारात्मक छाप छोडेको देखिन्छ। स्थानीय सरकार, नागरिक समाज तथा बौद्धिक समुदायबाट समेत क्लबको गतिविधिलाई अनुकरणीय मानिएको छ, जसले संस्थाको भविष्यप्रति आशावाद जगाएको छ।
प्रतिक्रिया