भदौ १० २०८३, बुधवार

के तपाईं जैविक मल कारखाना खोल्न चाहनु हुन्छ? नगरपालिकाले ल्यायो यस्तो योजना ..


गौरादह नगरपालिकाले जैविक तथा प्राङ्गारिक मल कारखाना स्थापनालाई प्राथमिकतामा राखेको पाइएको छ । बढ्दो रासायनिक मलको प्रयोग न्यूनीकरण गर्ने उद्देश्यले स्थानीयस्तरमा अर्गानिक मल उत्पादनमा प्रोत्साहन गर्ने नगरपालिकाले निति तर्जुमा गरेर आवश्यक बजेट समेत व्यवस्था गरेको हो । 
रासायनिक मलको अपर्याप्तता र जमीनको उर्वराशक्तिमा ह्रास आउदै गएको परिपेक्षमा जैविक मल उत्पादनमा कृषकहरुलाई प्रोत्साहन गर्न उक्त कार्यक्रम ल्याइएको नगर प्रमुख छत्रपति सुवेदी बताउनु हुन्छ । 

 ठोस निति तर्जुमा गरि निजि फर्म तथा संस्थाहरु सँग ५० प्रतिशत लागत साझेदारीमा जैविक मल उत्पादन गर्ने योजना अगाडि सारिएको वहाँले बताउनु भएको छ । 

 नगरपालिकाले माटोको उर्वराशक्ति बढाउने र स्थानीय स्तरमै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यसहित नयाँ मल कारखाना स्थापना तथा सञ्चालनका लागि इच्छुक कृषि समूह, सहकारी, फर्म र कम्पनीहरूलाई प्रस्ताव पेस गर्न आह्वान गरेको छ।
नगरपालिकाको स्वीकृत वार्षिक कार्यक्रमअनुसार आर्थिक वर्ष २०८३/८४ मा “जैविक तथा प्राङ्गारिक मल कारखाना प्रवर्द्धन कार्यक्रम” सञ्चालन हुने भएको हो। यस कार्यक्रमअन्तर्गत नगर क्षेत्रभित्र माटोको उर्वराशक्ति वृद्धि गर्ने, दीगो कृषि उत्पादनलाई प्रवर्द्धन गर्ने र स्थानीय स्तरमै प्राङ्गारिक मल उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ। नगरपालिकाले ५० प्रतिशत लागत साझेदारीमा नयाँ मल कारखाना स्थापना तथा सञ्चालनका लागि सहयोग गर्ने जनाएको छ।
सूचनाअनुसार, इच्छुक पक्षले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र (मिति २०८३/०५/२३ गतेसम्म) आवश्यक कागजातसहित नगरपालिकाको कृषि विकास शाखामा निवेदन पेस गर्नुपर्नेछ। सूचनाको पहिलो पटक प्रकाशन मिति २०८३/०५/०९ रहेको छ।
आवश्यक कागजातहरू
आर्थिक तथा कार्ययोजना विवरणसहितको निवेदन
संस्था दर्ता तथा नवीकरणसम्बन्धी प्रमाण
प्रचलित कानूनबमोजिम दर्ता भएको कृषि समूह, कृषि सहकारी, फर्म वा कम्पनीको दर्ता/नवीकरण प्रमाणपत्रको प्रतिलिपि
स्थायी लेखा नम्बर (PAN) दर्ता प्रमाणपत्र
आर्थिक वर्ष २०८२/८३ को कर चुक्ता प्रमाणपत्र
मल कारखाना स्थापना तथा सञ्चालन गर्ने सम्बन्धी समूह/संस्थाको बैठकको निर्णय
सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
जग्गाको स्वामित्व तथा प्रमाण
आफ्नै जग्गा भएमा जग्गाधनी दर्ता प्रमाणपूर्जा र आ.व. २०८३/८४ को मालपोत तिरेको रसिदको प्रतिलिपि चाहिन्छ। भाडा/बहालको जग्गा भएमा कम्तीमा १० वर्ष अवधिको अधिकारिक जग्गा भाडा/बहाल सम्झौता पत्र, जग्गाधनीको दर्ता प्रमाणपूर्जा, नागरिकता र आ.व. २०८३/८४ को मालपोत तिरेको रसिदको प्रतिलिपि अनिवार्य छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सुवेदीले हस्ताक्षर गरेको यस सूचनामा कृषि समूह, सहकारी तथा कम्पनीहरूलाई स्थानीय स्तरमै मल उत्पादन उद्योग स्थापना गर्ने अवसर खुला गरिएको छ। यसले एकातर्फ किसानहरूलाई गुणस्तरीय जैविक मल उपलब्ध गराउन मद्दत गर्नेछ भने अर्काेतर्फ स्थानीय रोजगारी सिर्जना र कृषि क्षेत्रको दीगो विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
इच्छुक पक्षले थप जानकारीका लागि गौरादह नगरपालिकाको कृषि विकास शाखा वा फोन नं. ९८४९९६४९४३, इमेल gauradahamun@gmail.com / krishishakha147@gmail.com मा सम्पर्क गर्न सक्नेछन्। वेबसाइट: www.gauradahamun.gov.np।

प्रतिक्रिया

सम्बन्धित समाचार