जेठ १५ मा राजधानी एमालेको कब्जामा हुनुपर्छ: ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ १५ गते राजधानी काठमाडौं पूर्णरूपमा एमालेको नियन्त्रणमा हुनुपर्ने स्पष्ट निर्देशन दिएका छन्।
आइतबार बागमती प्रदेशमा एमालेबाट निर्वाचित वडाध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राजतन्त्र समर्थकहरूद्वारा चर्काइँदै गएको गतिविधिलाई लक्षित गर्दै यस्तो अभिव्यक्ति दिएका हुन्।
उनले प्रतिगामी तत्वहरूद्वारा फैलाइएका भ्रमहरू तोड्दै भने, “राजतन्त्र फर्कने कुनै आधार छैन, तर प्रतिक्रियावादीहरू सक्रिय भइरहेका छन्, यस्तो बेलामा एमाले कार्यकर्ताहरूको मनोबल खस्कनु हुँदैन।”
अध्यक्ष ओलीले प्रदर्शनको दिन तयारी अवस्थामा रहन निर्देशन दिँदै थपे, “१५ गते ११ बजेदेखि २ बजेसम्म काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्छ। कुन संस्था अगाडि जान्छ भनेर नहेरौं, सबै मिलेर एकढिक्का भएर अघि बढौं। आन्दोलनमा प्रोटोकल वा औपचारिकताले होइन, उत्साह र संकल्पले काम गर्छ।”
ओलीले राजावादीहरू कुनै महान उद्देश्यका लागि नभई सरकार र जनताको मौनताको फाइदा उठाउँदै अनावश्यक शक्ति प्रदर्शनमा उत्रिएको आरोप लगाए। उनले चेतावनी दिँदै भने, “ढ्याङ्ग्रो बजाएर एमाले सडकमा ओर्लिएपछि यिनीहरू कता कता दुलो खोज्दै लुकेर बस्नेछन्।”
अध्यक्ष ओलीको यो आह्वानले जेठ १५ गते राजधानीमा हुने राजनीतिक ध्रुवीकरणको संकेत दिइसकेको छ। तस्बिर : ईन्टरनेट
प्रतिक्रिया