दक्षिण कोरियामा ६५ वर्ष वा ६५ वर्ष भन्दामाथिको जनसङ्ख्या २० प्रतिशत पुग्यो
दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयको तथ्याङ्कअनुसार एक करोड दुई लाख जना मानिस ६५ वर्ष वा त्यसभन्दा माथिका छन् । दक्षिण कोरियाको जनसङ्ख्या पाँच करोड १० लाख छ । २० प्रतिशत मानिस बुढ्यौली समूहका रहेको आधिकारिक तथ्याङ्क सार्वजनिक भएसँगै दक्षिण गम्भीर जनसाङ्ख्यिक सङ्कटमा फसेको छ ।
दक्षिण कोरियामा सन् २००८ मा बुढ्यौली उमेर समूहका मानिस कुल जनसङ्ख्याको १० प्रतिशत थिए । सन् २०१९ मा १५ प्रतिशत नाघेकोमा अहिले बढेर २० प्रतिशत पुगेको हो । सन् २०२३ मा दक्षिण कोरियाको जन्मदर शून्य दशमलव ७२ मा झरेको छ । यो विश्वकै सबैभन्दा कम जन्मदर हो ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) को मापदण्ड अनुसार २० प्रतिशत मानिस बुढ्यौली समूहका रहनुलाई जनसाङ्ख्यिक सङ्कट मानिन्छ । डब्लूएचओले सात प्रतिशत नागरिक ६५ वर्ष वा त्योभन्दा बढी उमेरका रहेको देशलाई ‘एजिङ’ समाजको वर्गमा राखेको छ । त्यस्तै, १४ प्रतिशत बुढ्यौली भएमा ‘एज्ड’ र २० प्रतिशतभन्दा धेरै बुढ्यौली भएमा ‘सुपर एज्ड’ समाजमा वर्गीकरण गरेको छ ।
प्रतिक्रिया