छठपर्वको उल्लासमा कृष्णगंगा घाटमा भव्य कार्यक्रम सम्पन्न, मङ्सिरमा महापुराण आयोजना गरिँदै
कृष्णगंगा घाटमा यस वर्ष छठपर्वको अवसरमा विशेष कार्यक्रमको आयोजना गरियो, जसले स्थानीय जनमानसमा नयाँ उत्साह थप्यो। यो वर्षदेखि प्रारम्भ भएको यस पर्वको कार्यक्रमलाई निरंतरता दिने योजनासहित प्रतियोगितात्मक सांस्कृतिक नृत्य प्रतियोगिता पनि समावेश गरिएको थियो। भक्तजनको उल्लेख्य उपस्थिति रहेको यस पर्वमा, नदी किनारमा रातभर जाग्राम बसेर श्रद्धालुहरूले छठी माताको पूजा गरे, जसले घाटलाई भक्तिमय र आध्यात्मिक बनायो।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख छत्रपती सुवेदीले छठपर्वले धार्मिक एकता र सांस्कृतिक धरोहरलाई प्रगाढ बनाएको बताउँदै आगामी दिनमा यसको अझ व्यापक र व्यवस्थित आयोजनाका लागि प्रतिबद्धता जनाए। उपप्रमुखले पनि श्रद्धालुहरूको आस्थाको सराहना गर्दै, यस पर्वलाई परम्परागत तथा सांस्कृतिक रूपमा संरक्षण गर्ने प्रतिवद्धता व्यक्त गरे।
वडाध्यक्ष नगेन्द्र भण्डारीले समाजमा धार्मिक सहिष्णुता र सामाजिक एकता प्रवर्द्धन गर्न छठपर्वको भूमिका उल्लेखनीय रहेको भन्दै, आगामी मंसिरमा भव्य पुराणको आयोजना गरिने जानकारी दिए। उनले गत वर्षको सफल पुराण स्मरण गर्दै यस वर्ष पनि जग्गा दाताहरू प्रथम कुमारी विष्ट र हरिमाया लोहनीको योगदानको कदर गरिएको बताए।
कार्यक्रमको समापनमा नृत्य प्रतियोगिताका विजेताहरूलाई सम्मान प्रदान गरियो। यस पर्वले कृष्णगंगा घाटलाई धार्मिक तथा सांस्कृतिक चेतनाको केन्द्रबिन्दु बनाउँदै, स्थानीय तथा पर्यटकहरूलाई आकर्षित गरेको छ।
प्रतिक्रिया