नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहको १७औं उपशाखा सभा सम्पन्न
गौरादह, झापा – नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले आफ्नो १७औं उपशाखा सभा भव्यताका साथ सम्पन्न गरेको छ। कार्यक्रम उपशाखा सभापति भीम विजय बाँस्तोलाको अध्यक्षतामा सम्पन्न भएको थियो। सभामा अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन, र वार्षिक गतिविधिहरू प्रस्तुत गरिए।
सभामा प्रमुख अतिथि नगर प्रमुख छत्रपती सुवेदीले गौरादहमा रहेको सुविधासम्पन्न भवन, एम्बुलेन्स, र शव वाहन सेवाको उल्लेख गर्दै यसले स्थानीय नागरिकलाई ठूलो राहत मिलिरहेको बताए। अन्य अतिथि झापा जिल्ला सभापति एकनाथ ढकाल, उपमेयर जलवर्षा राजवंशी, र विभिन्न पदाधिकारीहरूको जिल्ला उपसभापति मित्रदेव काफ्लेलगायतको उपस्थिति पनि उल्लेखनीय रह्यो।
कार्यक्रमका क्रममा रेडक्रसका संस्थापक जॉन हेनरी ड्युनाँप्रति श्रद्धा अर्पण गर्दै मानवीय सेवाका सिद्धान्तहरूलाई आत्मसात गर्ने प्रतिबद्धता जनाइयो। उपशाखाको २७ वर्षे यात्रामा यस संस्थाले गरेका योगदान र सामना गरेका चुनौतीहरूको चर्चा गरियो।
उपशाखाले विपद् व्यवस्थापन, रक्तदान, शव वाहन सेवा, र सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। २०७२ सालदेखि शव वाहन सेवा सञ्चालनमा ल्याइएको छ। माइ पश्चिम क्षेत्रीय राहत सामग्री गोदाम स्थापना गरेर विपद् व्यवस्थापनलाई सशक्त बनाइएको जानकारी गराइएको छ ।
उपशाखाको मुख्य आम्दानी एम्बुलेन्स र शव वाहन सेवाबाट हुने गरेको छ भने दातृ संस्थाको सहयोगले पनि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। २०८१ असार मसान्तसम्म उपशाखाको कुल पूँजी २१,८३,९४६.१० रुपैयाँ रहेको छ भने कुल वासलात ३१ लाख ९८ हजार ४ सय ४६ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सभाले वाल कम्पाउण्ड निर्माण, तालिम हलको योजना निर्माण, र बाढीपीडित परिवारलाई राहत वितरण गर्ने जस्ता गतिविधिहरूलाई प्राथमिकतामा राख्ने निर्णय गर्यो। साथै, रक्तदान, वृक्षरोपण, र सफा कार्यालय अभियानलाई निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा गौरादहले आगामी दिनमा पनि मानवीय सेवामा निरन्तरता दिने प्रतिवद्धता जनाउँदै सभाको समापन भएको छ ।
निर्वाचन सहितको शाखा अधिवेशन भएकोले आगामी पौष २० गते उम्मेद्वारी दर्ता भएर निर्वाचन कार्यक्रम अगाडि बढ्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया