धिमधिमेमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन हुने
“जेष्ठ नागरिक राष्ट्रका अमूल्य निधि हुन्” भन्ने भनाइलाई सार्थक तुल्याउने प्रयासमा गौरादह–२ र ३ को सङ्गम स्थल धिमधिमे चोकमा जेष्ठ नागरिक दिवा सेवा कार्यक्रम सञ्चालन हुने भएको छ। समाजका जेष्ठ नागरिकहरूको सम्मान र उनीहरूको दैनिकीलाई सहज बनाउँदै सकारात्मक वातावरण निर्माण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।
यो कार्यक्रम गौरादह नगरपालिकाको ५ नं. टोल विकास संस्थाको पहलमा अगाडि बढाइएको हो। संस्थाको औपचारिक स्थापना गर्ने लक्ष्यसहित गत पौष १२ गते आम भेला बोलाइएको थियो। भेलाले कुलमणी आचार्यको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरेको छ।
सदस्यहरूमा: लक्ष्मी आचार्य (गुरु), मयानाथ सिग्देल, रिता अधिकारी, ज्ञान बहादुर न्यौपाने, पारस घिमिरे, प्रेम प्रसाद धमला, दिब्या कार्की र माया भण्डारी रहेका छन्।
संस्थाले दीर्घकालीन रूपमा जेष्ठ नागरिक भवन निर्माण गर्ने लक्ष्य राखेको छ। यो उद्देश्यलाई मूर्त रूप दिनका लागि उपसंयोजक इन्दिरा पोख्रेलको नेतृत्वमा ५ सदस्यीय जग्गा खोजतलास समिति गठन गरिएको छ। समितिका सदस्यहरूमा कुलमणी आचार्य, बिमल दाहाल, डिल्लीराम भट्टराई, ज्ञान बहादुर न्यौपाने र महेन्द्र थापा रहेका छन्। दाताको सहयोगमा जग्गा व्यवस्थापन गर्दै भवन निर्माणको योजना अगाडि बढाइने जानकारी उपाध्यक्ष पोख्रेलले दिइन्।
जेष्ठ नागरिकहरूको दैनिक जीवनलाई सहज बनाउन र उनीहरूलाई मनोरञ्जन प्रदान गर्न विभिन्न गतिविधि सञ्चालन गरिनेछ। सम्मान आदानप्रदान, भजन-कीर्तन, गुनासो सुन्ने व्यवस्था, चिया-नास्ता, तथा अन्य सामाजिक सहयोग कार्यक्रम यो परियोजनाको मुख्य हिस्सा हुनेछ।
गौरादह नगरपालिकामा जेष्ठ नागरिकहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ। ती नागरिकहरूले जीवनका विभिन्न चरणमा खेपेका संघर्ष र योगदानको सम्मान गर्दै, दिवा सेवा कार्यक्रम जस्तो योजना सुरु गर्नु समाजको दायित्व हो। यस क्षेत्रमा यस किसिमको पहल पहिलोपटक भएको हुँदा स्थानीयको चासो र उत्साह निकै ठूलो छ।
समाजका जेष्ठ नागरिकहरूको सम्मान र सहयोगको यो कार्यक्रमले गौरादहलाई सकारात्मक उदाहरणका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ। यस योजनाले जेष्ठ नागरिकहरूको जीवनस्तर सुधार गर्नुका साथै उनीहरूको सामाजिक सहभागितालाई पनि सशक्त बनाउनेछ। सफल कार्यान्वयनका लागि सबै पक्षबाट सहयोग आवश्यक छ। गौरादहको यो पहलले अन्य स्थानहरूलाई पनि प्रेरणा दिने विश्वास लिइएको छ।
- गौरादह संवाददाता
प्रतिक्रिया