गौरादह: GEEP कार्यक्रमअन्तर्गत रोजगारी र आयवृद्धिका लागि नमूना पहल
गौरादहमा ‘उत्कृष्ट ४० उद्यमी’ घोषणा, स्थानीय उद्यमशीलताको सशक्तिकरणमा जोड
— GEEP कार्यक्रमअन्तर्गत रोजगारी र आयवृद्धिका लागि नमूना पहल
गौरादह, १८ वैशाख — कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालय, गौरादह नगरपालिका र दायित्वको सहकार्यमा सञ्चालित वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्द्धन कार्यक्रम (GEEP) अन्तर्गत ‘उत्कृष्ट ४० गौरादह नगरपालिका उद्यमी घोषणा तथा सम्मान कार्यक्रम’ सम्पन्न भएको छ।
विदेश पलायनको दर उच्च भइरहेका बेला ग्रामीण स्तरमै साना तथा लघु उद्यमहरूलाई सशक्त बनाउँदै रोजगारी सिर्जना र आर्थिक समृद्धिमा टेवा पु¥याउने लक्ष्यका साथ सञ्चालन गरिएको कार्यक्रममा गौरादह नगरपालिका क्षेत्रका १०१ आवेदनमध्ये विभिन्न सूचकहरू — सोच र सीप, नवप्रवर्तन क्षमता, वित्तीय अवस्था, नेतृत्व, बजार र सामुदायिक प्रभाव आदिका आधारमा ४० जना उद्यमी उत्कृष्टका रूपमा छनोट गरिएको हो।
वृद्धिको यात्रातर्फ उद्यमीहरूलाई अग्रसर गराउने
छनोट गरिएका ४० उद्यमीहरूमध्ये आगामी चरणमा उत्कृष्ट २० उद्यमीहरूलाई स्तरीकरण गरिनेछ। यिनीहरूलाई उद्यम नवप्रवर्तन शिविर मार्फत व्यवसायिक योजना मजबुत पारिनेछ भने पूरक साझेदारी र बजार सञ्जाल विस्तारमा सहयोग गरिनेछ। त्यसपछि स्थलगत मूल्याङ्कनका आधारमा उत्कृष्ट १० उद्यम छनोट गरिनेछ।
उत्कृष्ट १० उद्यमलाई नेतृत्व विकास, परिष्कृत व्यवसाय योजना निर्माण र लगानी प्रस्तुतीकरणमार्फत नयाँ उचाइमा पु¥याइनेछ। साथै, ब्रान्डिङ, बजारीकरण, प्रविधि नवप्रवर्तन, मूल्य श्रृंखला विकास, प्रदशस्तरीय प्रदर्शनी तथा बजारीकरण प्रविधिको पहुँच विस्तारजस्ता विशेष सहायता प्रदान गरिनेछ।
स्थानीय समृद्धिको ढोका खोल्ने अपेक्षा
कार्यक्रमका प्रबन्धक सञ्जय पोखेलका अनुसार GEEP कार्यक्रम गौरादहलाई उद्यमशील नगरको रूपमा स्थापित गर्न चाहन्छ। “गौरादहमा पर्याप्त सम्भावना छन् — कृषिमा, पशुपालनमा, साना उत्पादनमा। हामी स्थानीय स्रोतसाधनमै आधारित रोजगारी सिर्जना गर्दै आर्थिक वृद्धिको मार्ग निर्माण गरिरहेका छौँ,” उनले बताए।
कार्यक्रमले शासकीय क्षमता सुदृढीकरण, बहु-सरोकारवालाबीच सहकार्य, र ज्ञान आदानप्रदानलाई प्राथमिकता दिएको छ। यस अभियानमार्फत गौरादह नगरपालिका समृद्ध र आत्मनिर्भर उद्यमशील नगरको रूपमा अघि बढ्ने आशा गरिएको छ।
प्रतिक्रिया