शुद्धोधन गाउँपालिकाले गर्यो नाम परिवर्तन
बुटवल, २५ पुस २०८१
रूपन्देहीको शुद्धोधन गाउँपालिकाले आफ्नो नाम ‘शुद्धोधन’ बाट संशोधन गरी ‘शुद्धोदन’ राख्ने निर्णय गरेको छ। गाउँपालिकाको १७औं अधिवेशनको तेस्रो बैठकले यो निर्णय सर्वसम्मतिले पारित गरेको हो।
गाउँपालिकाको नाम भगवान गौतम बुद्धका पिता शुद्धोधनका नामबाट राखिएको भए पनि व्याकरणीय अशुद्धता रहेको भन्दै नाम शुद्धीकरण गरी ‘शुद्धोदन’ बनाउने निर्णय गरिएको छ। यसअघि, चलनचल्तीमा पालिकाको नाम ‘शुद्धाधन’ लेखिने गरेको थियो।
दीर्घकालीन सोचमा परिमार्जन
पालिकाले आफ्नो दीर्घकालीन सोच पनि परिवर्तन गरेको छ। पहिलेको सोच, “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार: सुशासन र समृद्ध शुद्धोधन गाउँपालिकाको मुख्य आधार” लाई संशोधन गरी “आर्थिक विकासमा प्रवर्द्धन: समृद्ध शुद्धोदन” बनाइएको छ।
गाउँपालिकाका प्रवक्ता केशवप्रसाद अधिकारीले नाम संशोधन र दीर्घकालीन सोच परिमार्जनसम्बन्धी प्रस्ताव गाउँसभामा पेस गरेका थिए। अध्यक्ष विष्णुप्रसाद बस्यालले निर्णयले पालिकाको उद्देश्य अझ स्पष्ट र प्रभावकारी बनाउने विश्वास व्यक्त गरेका छन्।
परिवर्तित नाम र सोचलाई प्रदेश सरकारको सिफारिसमा संघीय सरकारले अनुमोदन गरेपछि कार्यान्वयनमा ल्याइनेछ।
गाउँपालिकाले यो निर्णयमार्फत आर्थिक विकास र समृद्धिलाई प्राथमिकता दिँदै आधुनिक पालिका निर्माणतर्फ उन्मुख भएको संकेत दिएको छ।
प्रतिक्रिया